Message From Former Chairman

श्री किशोरचन्द्र दुलाल सञ्चालक समिति पुर्व अध्यक्ष

देशको अवस्थितिको हिसाबले विगतको तत्कालीन अवस्थामा तेह्रथुम जिल्ला दुर्गम जिल्लाको रुपमा रहेको हो । दुर्गम जिल्लाको रुपमा परिचित भए पनि चेतनाको हिसाबले यो जिल्ला देशकै अग्रणी जिल्लाको रुपमा पनि चिनिएको हो । यस जिल्लामा शैक्षिक आन्दोलन र सामाजिक आन्दोलनहरु निरन्तरतापूर्वक अगाडि बढिरहेकै हुन् । जिल्लाको पूर्वी क्षेत्र ‘आठराइ’ ले यी विषयहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको तथ्यहरु सार्वजनिक नै छन् । जसको श्रेय ‘तेह्रथुम बहुमुखी क्याम्पस’ आठराइलाई जान्छ ।

राजनैतिक हिसाबले तत्कालीन व्यवस्थाप्रतिका नेतृत्वदायी व्यक्तित्वहरु फेदाप क्षेत्रले जन्माइरहेको भए तापनि शैक्षिक तथा प्राज्ञिक नेतृत्वमा भने अग्रणी भूमिका निर्वाह गर्न सकिरहेको थिएन । छथर क्षेत्र फेदाप क्षेत्रभन्दा पनि पछि परेको अवस्थामा थियो । जिल्लाको सदरमुकाम म्याङलुङमा भए पनि उच्च शिक्षाको क्षेत्रमा पूर्वी क्षेत्रभन्दा पछि नै थियो । 

शिक्षा नै सभ्यता र चेतनाको आधार भएको यथार्थतालाई महशुस गरी आर्थिक सामाजिक विपन्नताका वावजुद स्थानीय जिल्लाबासी अगुवाहरुको पहलमा निक्कै नै अप्ठ्यारो स्थितिबाट म्याङलुङ क्याम्पस तेह्रथुमको विधिवत् रुपमा २०३८ सालमा स्थापना भयो । उच्च शिक्षाको क्षेत्रमा यसपछि देखि मात्र जिल्लाबासी तथा जिल्लाका आसपासका अन्य जिल्लाका विद्यार्थीहरुले समेत यस क्याम्पसमा सहजतापूर्वक अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन् । 

मानविकी समूहको प्रमाण पत्र तहबाट शुरु भएको म्याङलुङ क्याम्पस २०४८ सालदेखि मानविकी समूहको स्नातक तहसम्मको स्तर उन्नतिमा प्रवेश गरेको हो । +२ कक्षा पनि सञ्चालन भइरहेको यो क्याम्पस २०५७/०५८ शै.स.देखि शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तहको पठनपाठन शुरु गरी विद्यार्थीहरुको विषयगत माग पनि पूरा गर्दै आएको छ । यसै गरी व्यवस्थापन संकायको स्नातक तह पनि २०६४/०६५ शै.स.देखि सञ्चालन भइरहेको छ । 

विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको तीर्खा मेटाउनलाई २०६६/०६७ देखि मानविकी संकायतर्फ नेपाली विषय एम.ए. र शिक्षा शास्त्र संकाय तर्फ शै.स.२०६७/०६८ देखि एम.एड. इ.पि.एम. विषयमा स्नातकोत्तर तहसमेत सञ्चालन भइरहेको छ । जसको कारण उच्च शिक्षामा सर्वसाधारणको पहुँच भइरहेको छ । त्यसैगरी  उच्च शिक्षामा महिला सहभागिता (छोरीबुहारी)मा समेत व्यापक वृद्धि भइरहेको छ। वर्तमान अवस्थामा पनि समुदायस्तरको सहयोग निरन्तररुपमा नै रहेको छ । २०७० साल जेठमा क्याम्पस सहयोगको लागि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञबाट रु.३० लाख सहयोग जनस्तरबाट संकलन गरी अक्षयकोष समेत स्थापना गरिएको छ । 

यसै गरी यो क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त गर्ने प्रक्रियामा सामेल भइरहेको छ । जसको प्राप्तिपछि क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगबाट अनुदान वृद्धि हुने र क्याम्पसको  GOODWILL मा समेत वृद्धि हुनेछ । विभिन्न छात्रवृत्तिहरु स्थापना गरिदिनु भएर शिक्षाप्रेमी महानुभावहरुले विद्यार्थीहरुलाई प्रोत्सान पनि पुर्याइरहनुभएको छ । 

उच्च शिक्षामा सर्वसाधारणको पहुँच वृद्धि गराउन यो क्याम्पस निरन्तर रुपमा अगाडि बढिरहेको छ । क्याम्पसले १० वर्षे रणनीतिक विकासको योजना बनाइ त्यसै अनुरुप अगाडि बढिरहेको छ । 

यो क्याम्पस ३५ औं वसन्त पार गरिसकेको अवस्थामा अनेकौं चुनौति र समस्याहरुको सामना गर्दै आइरहेको छ । भौतिक पूर्वाधारको पूर्णता हुन नसक्नुविद्यार्थीहरुको आकर्षणका विषयहरु सञ्चालन गर्न कठिनाइ र प्राध्यापकहरुलाई नियमित र त्रि.वि. स्केल अनुसार तलब दिन नसक्नु वर्तमानका उल्लेख्य समस्याहरु हुन् । विद्यमान चुनौति तथा समस्याहरुका वावजुद पनि यस क्याम्पसले वर्तमान अवस्थामा जिल्लाको उच्च शिक्षाको नेतृत्व गरिरहेको छ । आवश्यक धेरैजसो जनशक्तिहरु उत्पादन गरी समाजलाई उन्नत बनाउन यथेष्ठ मद्दत पुर्याइरहेको छ । यी सबै समस्याहरुलाई समाधान गर्न फेरि पनि यस क्याम्पसले समुदायका सम्बन्धित सरोकारवालाहरु सबैको सहयोगको निरन्तर अपेक्षा गरिरहेको छ । 

अन्त्यमा स्थापना कालदेखि हालसम्म आइपुग्दा ३५औं वर्ष पूरा गरी ३६औं वर्ष प्रवेश गरेको खुशीयालीको यस सुखद र महत्वपूर्ण सन्दर्भमा क्याम्पसमा भए गरेका सम्पूर्ण गतिविधिलेख रचनाहरु सहित म्याङलुङ बहुमुखी क्याम्पसको स्मारिका दोश्रो भाग” प्रकाशन गरिएकोले खुसी व्यक्त गर्दै स्तरीय र उन्नत स्मारिका प्रकाशनको लागि प्रकाशन टिमलाई शुभकामना प्रदान गर्दै यस क्याम्पसको उत्तरोत्तर प्रगतिको समेत हार्दिक शुभकामना व्यक्त गर्दछु ।    

                                                 धन्यवाद